बिगुलमा नरेन अनुबन्धित

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । फिल्ममा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो ।

बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ ।

अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो पटक ‘बाह्र गाउँ’मा देखिएका थिए ।

फिल्म ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेन ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका अभिनेता हुन् । ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन् ।

यो फिल्ममा अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ । निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ ।

फिल्ममा रमेश कोइरालाको निर्देशन रहनेछ । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् ।

एमजीपी ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन हुनेछ । फिल्मको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते मुहुर्तसँगै सुरु हुनेछ ।