कुस्तीको इन्डक्ल्यापसँगै विदेशमा माग बढ्दो

काठमाडौँ । काठमाडौँ र आसपासका क्षेत्रमा छायाङ्कनरत फिल्म ‘कुस्ती’ को छायाङ्कन सुरु भएको ३९ औं दिनमा इन्डक्ल्याप गरिएको छ । फिल्मका निर्माता तथा निर्देशक अनिल योञ्जनले गीत बाहेकका दृश्य सकेर इन्डक्ल्याप गरिएको बताए ।

उनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा देखाइएको उल्लेख गरे । ‘कुस्ती एकअर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो,’ उनले भने ।

फिल्ममा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो ।

उनले फिल्मको छायाङ्कनकै क्रममा अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउदै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धिरज र मिरुनाको जोडीलाई एकसाथ पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ ।

फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहेको छ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।