काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा खिचिएको फिल्मको छायांकन ३६ दिनमा पुरा भएको हो ।
‘हामीले अपेक्षा गरेजस्तै फिल्मको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,’ निर्देशक पौडेलले भने, ‘अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै फिल्म निकाल्ने छौँ ।’
सामाजिक कथावस्तु पस्किने फिल्म सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्म २०८२ सालको तिहारको अवसर पारेर लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो फिल्म सुरेन्द्र पौडेलको चौथो निर्देशकीय फिल्म हो ।
फिल्ममा आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको कथा महेश दवाडीले लेखेका छन् ।
फिल्ममा मानकृष्ण महर्जनको डिओपी, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व, प्रदीप लामाको कोरियोग्राफी रहेको छ । फिल्मवृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो ।
फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछन् ।