काठमाडौं । गीतकार टीका भट्टराई नेपालको गीतसङ्ग्रह ‘माटोको सुगन्ध’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा बिहीबार सङ्घकै सभाहलमा एक विशेष समारोहबीच गायिका तथा सङ्गीतकार मीरा राणाको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।
गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार सङ्घका सल्लाहकार तथा अमर भावना राष्ट्रिय स्रष्टा सम्मान अक्षय कोषका संरक्षक गीतकार अमर वान्तु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा अनेसास ट्रष्टकी पूर्व अध्यक्ष साहित्यकार गीता खत्री, वरिष्ठ सङ्गीतकार राजु सिंह र गीतकार रविन्द्र आशिष शैलीको विशेष आतिथ्यता रहेको थियो ।
संस्थाका आजिवन सदस्य सञ्चारकर्मी हरिराम पौडेलले सहजिकरण गरेको कार्यक्रममा स्रष्टा टिका भट्टराई नेपालले स्वागत मन्तव्य राख्दै छैटौं कृति पाठकमाझ ल्याउदाका अनुभव सुनाएका थिए ।
स्रष्टा टिकाका विषयमा लेखनाथ पुस्तकालय भद्रपुरका कार्यवाहक अध्यक्ष खगेन्द्र खुशीले भनाइ राख्दै उनी बहुआयामिक व्यक्तित्व रहेको चर्चा गरेका थिए । कृतिको संमिक्षात्मक टिप्पणी राख्दै गीतकार सङ्घका पूर्व सचिव सुशिला पौडेलले यस गीतसङ्ग्रहमा विविधता रहेको भन्दै यसमा आम मानिसका साथै माटो र राष्ट्रका गीत रहेको चर्चा गरिन् ।
साहित्यकार अचुत घिमिरे, आलेख साहित्यिक मासिकका सम्पादक केशव आचार्यका साथै प्रमुख अतिथि र विशेष अथितिहरूले आ(आफ्ना भनाइ राख्दै स्रष्टा भट्टराईलाई बधाई तथा शुभकामना दिएका थिए ।
सङ्घका अध्यक्ष तथा सभाध्यक्ष थापाले मोफसलमा रहेर पनि भट्टराईले निरन्तर आफूलाई लेखन कार्यमा सक्रिय राख्नु आफैँमा गौरवको विषय भएको भन्दै संघले केन्द्रमा मात्र नभएर मोफसलका साथै विदेशमा रहनुभएका गीतकारहरूलाई सङ्गठित गरिरहेको बताए ।
झापाको कनकाइ नगरपालिका(३ मा जन्मिएर त्यही क्षेत्रलाई कर्मथलो बनाएकी सर्जक भट्टराईका गीतहरूमा नेपाली चेलीहरूको कथा ब्यथाको कारुणिक उद्बोधन झल्किन्छ भने उनका कतिपय गीतहरू मनमुटु र देशप्रेमले ओतप्रोत छन् । लोकार्पण भएको कृति उनको छैटौं गीतिसङ्ग्रह हो । यससङ्ग्रहमा १११ वटा गीत सङ्ग्रहीत छन् ।