काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’ आगामी साउन २३ गते प्रदर्शनमा आउने भएको छ । नयाँवर्ष २०८२ को अवसर पारेर आज वैशाख १ गते निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् । फिल्ममा उनीहरु श्रीमान श्रीमति रहेको अनुमान लगाउन सकिन्छ ।
माओवादी जनयुद्धको कथा फिल्मले उठान गरेको छ । सौगातले फिल्ममा जनयुद्धको घाइतेको भुमिका निर्वाह गरेका छन् । फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । फिल्ममा भुगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।