उच्च अकुपेन्सीका साथ पिताम्बरको वर्चस्व

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा रहेको फिल्म पिताम्बरले हलमा वर्चस्व जमाएको छ । ओपनिङबाट नै उत्साहजनक व्यापार गरिरहेको पिताम्बरले प्रदर्शनको चौथो दिन अर्थात् सोमबार उच्च सोसहित सफल यात्रा तय गरिरहेको छ । नयाँ वर्ष २०८२ का दिन देशभर १ सय ८५ बढी सो सङ्ख्यासहित चलिरहेको पिताम्बरले धेरै ८० प्रतिशत माथिको अकुपेन्सीसहित दर्शकको माया पाइरहेको छ ।

फिल्मलाई दर्शक प्रतिक्रिया सकारात्मक भएकाले सोमबारका लागि हलहरूले सो सङ्ख्या बढाएका छन् ।

फिल्मले तारिफ पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन् । फिल्म हलमा पिताम्बरका दर्शक भीडलाई सम्बोधन गर्दै सौगातले भनेका छन् ‘यो दर्शकहरूको माया हो ।

दर्शकहरूको माया पाउँदा निकै नै उत्साहित छौँ ।’ उनी मात्र होइन, अभिनेता प्रदीप खड्का, अनुपविक्रम शाही, अभिनेत्री दिव्या रायमाझी, निर्देशक कृषा चौलागाईं स्वयम् पनि दर्शकको मायाले खुसी देखिएका छन् । एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै निर्देशक चौलागाईंको चलचित्र बजारमा चर्चा बढेको छ भने एक्सन जनरामा सौगात मल्लको तारिफ पनि उतिकै बढ्दो देखिएको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।