काठमाडौँ। नयाँ बर्ष २०८२ को पहिलो दिनको अवसर पारेर नयाँ फिल्म पुष्पलताको घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने प्रेमकथा जनराको फिल्ममा सुनील निउरेको लेखन तथा निर्देशन हुनेछ ।
निर्माण पक्षले फिल्मका कलाकारबारे केही खुलाएको छैन । निर्देशक निउरेले पछिल्लो समय बनिरहेको प्रेमकथा भन्दा फरक प्रेमकथामा फिल्म बन्ने दाबी गरे । थुप्रै फिल्ममा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठुलो पर्दामा यो डेब्यु फिल्म हो ।
फिल्मको दुईवटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक थिम पोस्टरले पनि फिल्म प्रेमकथामा बन्ने झलक दिएको छ। फिल्ममा कास्टिङ डाइरेक्टर संजोग रसाइली रहेका छन् भने हर्क साउदको शब्द, सुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् ।
फिल्मको छायांकन आगामी भदौमा गर्ने तयारी रहेको छ । ड्रेस डिजाइनर बोनिका कार्की, रीत खड्का रहेका छन् भने अन्य प्राविधिक टिम र कलाकार पछि सार्वजनिक गरिने ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनले जानकारी गराएको छ ।