यानीमाया बनाउँदै पल शाह

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि सक्रिय अभिनेता पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्म ‘यानीमाया’को घोषणा गरिएको छ ।

पल शाह फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा विकास सुवेदीको डेब्यू निर्देशन रहनेछ । विकासले यसअघि फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखिसकेका छन् । विकासकै स्क्रिप्ट रहने पलको फिल्म फ्यामिली ड्रामा कथामा आधारित हुनेछ ।

अभिनेता पलले पनि पल शाह फिल्मस्लाई दर्शकहरुले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए । उनले, फिल्म निर्माणमा पनि दर्शकहरुबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् । फिल्मको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । फिल्ममा कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।