वर्ष २०८२ मा आशावादी छन् फिल्मकर्मी

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा इतिहास रच्न सफल भयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ ।

यसकारण पनि फिल्म क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ । नेपाली फिल्मको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताए ।

उनले भने, ‘यो वर्ष हामीले आशावादी हुने धेरै ठाउँ छन्, किनकि हामीले हाम्रो दर्शक र बजारको क्षमता बारे बुझ्ने मौका पाएका छौँ । तर, सङ्ख्यात्मक नभई हामीले गुणात्मक फिल्म बढाउनुपर्छ । अघिल्लो वर्ष केही चलचित्रले गरेको व्यापारका कारण यो वर्ष प्रदर्शनको सङ्ख्या बढ्ने देखिन्छ तर हामीले बजारलाई बुझेर त्योअनुसार फिल्म ल्याउनु पर्छ ।’

उनले अभिनय गरेको फिल्म ‘भूठान’ यही वैशाख १२ गते र ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँमा प्रदर्शन हुँदैछ । यस वर्ष मह सञ्चारबाट फिल्म निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच अभिनेता आचार्यले बनाएका छन् ।

‘फिल्म निर्माण गर्दा आफूमा धेरै दायित्व आउँछ, सोही कारण अहिले अभिनयमै केन्द्रित छौँ । दुई फिल्म प्रदर्शन भएपछि आगामी के गर्ने भन्ने सोच बन्छ, अहिले भने ती दुई फिल्मकै काममा केन्द्रित छु’, अभिनेता आचार्यले भने ।

अभिनेता निखिल उप्रेती पनि केही वर्षको विश्रामपश्चात् यो वर्षदेखि आफ्नो फिल्मकर्मलाई निरन्तरता दिँदै छन् । उनले छायाङ्कनका लागि नेपालसँगै भारतको केही भूभागको अवलोकन पनि गरिसकेका छन् ।

‘म जेठदेखि फिल्मको छायाङ्कन गर्ने तयारी गरिरहेको छु, अन्तिम साताबाट काम सुरू हुन्छ । अहिले नेपाली फिल्मको राम्रो समय आएको छ, चलचित्र भवनसम्म आएका दर्शकलाई बढाउने र ल्याइरहने गरी हामी फिल्मकर्मीले काम गर्न जरुरी छ । म यसपटक भिन्न कथा र शैलीको फिल्म दर्शकलाई दिने तयारी गरिरहेको छु’, उनले भने । अभिनेता उप्रेतीले द्वन्द्वप्रधान फिल्ममा वैचारिक द्वन्द्वलाई प्रस्तुत गर्ने बताए ।

झन्डै आठ वर्षपछि निर्देशक तुलसी घिमिरे पनि निर्देशनमा फर्किएका छन् । उनले ‘पहाड’ नामक फिल्मको छायाङ्कन गरिरहेका छन् । उनले आज नयाँ वर्षको सन्दर्भ पारेर फिल्मको प्रदर्शन कात्तिक ७ मा हुने घोषणा गरिएको छ । निर्देशक घिमिरेले दर्शकको विश्वास फिल्म र फिल्मकर्मीप्रति बढेको महशुस गरेका छन् । सोही कारण उनी यो वर्ष फिल्मकर्ममा फर्किए ।

‘केही समय मैले बनिरहेका फिल्मको अध्ययन नै गरें । हामीले विश्वका अन्य फिल्ममा नभएका विषय र भावनात्मक कथालाई प्रस्तुत गर्नसक्नुपर्छ । फिल्म हेर्ने संस्कृतिलाई बढाउन स–परिवार चलचित्र भवनमा आउने किसिमका फिल्म निर्माण हुनुपर्छ । यो वर्ष नेपाली फिल्मका लागि अघिल्लो वर्षभन्दा पनि उपलब्धिमूलक हुने विश्वास लिएको छु’, निर्देशक घिमिरेले भने ।

कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापासँगै विपिन कार्की र अरुण क्षेत्रीजस्ता नयाँ पुस्तासँग फिल्ममा काम गरेका निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्री र जेठी छोरी भावना घिमिरेलाई प्राविधिक टिममा ‘प्रोडक्सन डिजाइनर’ को जिम्मेवारी दिएका छन् ।

‘अन्य पेसाकर्मीझैँ हामीलाई पनि सन्तानले हामीले गरिरहेको पेसा रोज्दा खुसी लाग्छ । मेरो दुवै छोरीले गरेको कामको मूल्याङ्कन मैले गर्दा अस्वाभाविक लाग्ला तर यो फिल्मकर्म ठीक भन्ने लाग्नु सुखद् पक्ष हो । उनीहरू फिल्मकर्ममा आउनुले फिल्मप्रति उक्त पुस्ताको सकारात्मक सोचलाई दर्शाएको छ’, निर्देशक घिमिरेले भने ।

अभिनेत्री केकी अधिकारी वर्ष २०८२ मा प्रदर्शन हुने फिल्ममा विविधता देख्न पाइनेमा आशावादी छिन् । अघिल्लो वर्ष घोषणा र छायाङ्कन गरिएका फिल्म हेर्दा यो वर्ष नयाँपन र मौलिकतासँगै भव्यता पनि फिल्ममा पाइने अभिनेत्री अधिकारीले बताइन् ।

‘अघिल्लो वर्ष फिल्मको विषयलाई दर्शकले हिरो बनाउनुभयो । यो हाम्रो लागि सुखद् खबर थियो । त्यसकारण पनि यो वर्ष फिल्ममा कलाकारसँगै विषयमा निर्माताले लगानी गर्नुभएको छ । म एउटा फिल्मकर्मीका हिसाबले जति उत्साहित छु, दर्शकमा पनि त्यही उत्साह छ भन्ने विश्वास छ’, अभिनेत्री अधिकारीले भनिन् ।

गत वर्ष २०८१ को पहिलो फिल्मका रूपमा उनले निर्माण गरेको ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । फिल्ममा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव फिल्ममा प¥यो । उक्त फिल्मलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो ।

‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस फिल्मको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो फिल्म सफलताको श्रेय विषयवस्तुलाई जान्छ । त्यसकारण गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । अभिनेत्री अधिकारी पनि यस वर्ष आफ्नो निर्माण रहने फिल्मको छायाङ्कन गर्ने र आउँदो वर्ष प्रदर्शन गर्ने तयारीमा छिन् ।

समग्रमा यस वर्षलाई फिल्मकर्मीले ठूलो आशाका साथ स्वागत गरेका छन् । वर्षकै पहिलो दिन सात चलचित्र प्रदर्शन तथा निर्माण घोषणा गरिएको छ । यो वर्ष कलात्मकसँगै व्यावसायिक फिल्म उल्लेख्यरूपमा दर्शकले हेर्न पाउने छन् ।