नेपाल ग्रामीण चलचित्र महोत्सवमा बोक्सीको घरदेखि अन्जिलासम्म

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका फिल्मलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहेका थिए। प्री इभेन्टको कार्यक्रममा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन पनि गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, पत्रकार शान्तीप्रिय,चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष कुवेर गिरि लगायतको उपस्थिति थियो ।

यस महोत्सवमा गाउँको कथाबस्तुमा आधारित फिल्म समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ४ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले ुुनेपाल ग्रामिण चलचित्र महोत्सवको नाम नै विशेष रहेको र नेपाली फिल्म हेर्न रुचि राख्ने दर्शकहरुलाई उनीहरुकै ठाउँमा पुगेर फिल्म देखाउने भएकोले यो महोत्सवको विशेष महत्व रहेको बताए।

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हजारौ दर्शकको उपस्थिती रहेको थियो । दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो । तेश्रो बर्ष रामेछाप नगरपालिकामा कार्यक्रम गरिएको थियो भने यस पटक गोसाईकुण्ड गाउँ पालिका धुन्चे,रसुवामा गरिने सापकोटाले बताए ।

महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् । महोत्सवमा चलचित्र निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा जुरी कमिटि रहेको छ। जुरीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ रहेका छन्। चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव संगै गोसाईकुण्ड गाउँपालिका धुन्चे,रसुवामा गाउँपालिका अध्यक्षकप भलिवल प्रतियोगिता पनि संचालन हुँदैछ। यस पटक महोत्सवको समापनमा सांगीतिक कार्यक्रम समेत हुनेछ।

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोट भएका चलचित्रहरु

फिचर फिल्म
बोक्सीको घरः सुलक्षण भारती
पुजार सार्कीः दिनेश राउत
ज्वाईं साबः बसन्त निरौला
अन्जिलाः मिलन चाम्स
द्रौपदीः ऋषिराज आचार्य
फिरफिरे फिरीरीः नविन भट्ट

सर्ट फिल्म
विजेताः दिनेश लामा
एक जोर जुत्ताः मोहन अभिलासी
घटेरोः पुरुषोत्तम बस्नेत
म कमरेडः निर्मल पौडेल
शल्यक्रियाः विवेक नगरी
मनको घरः राज गुरुङ
आमाः परिच्छेद सेन
देवियाः शंकर धिताल
प्याकुलीः नितिन चन्द
जुनेलीः देवेन्द्र पाण्डे

डकुमेन्ट्री फिल्म
माताः अरुण कुमार प्रधान
माझीः सबिर श्रेष्ठ
गर्ल्स रि-राइटिंग डेस्टिनीः लव प्याकुरेल
गल्कोटः आकाश थापा मगर

भाषिक फिल्म
लोजिमाः सागर सुब्बा
आप्लेंग्ला लाम्साः अजय स्याङ्तान