नयाँ वर्षमा नेपाली फिल्मलाई दर्शकको साथ

काठमाडौँ । नेपाली फिल्मका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् उक्त दिन प्रदर्शनरत फिल्म हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ ।

यस वर्षको सुरुआतमा दर्शकको भीडभाड चलचित्र भवनमा देखिएको छ । प्रदर्शनरत फिल्म ‘पिताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’, ‘कर्मा’ लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक कृषा चौलागाईंले फिल्म ‘पिताम्बर’ले नयाँ वर्षको दिन सोमबार प्राप्त गरेको शोहरू भरिभराउ रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले काठमाडौँ उपत्यकाका अधिकांश चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । फिल्म हेर्नेले राम्रो प्रतिक्रिया दिनुभएको छ । नेपालमा यस्तो फिल्म बन्छ भन्ने प्रतिक्रिया दिनु नै हाम्रो सफलता हो ।’ उनले व्यापारिक रुपमा आफ्नो समूह सफल हुने विश्वास व्यक्त गरिन् । उक्त फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले अभिनय गरेका छन् ।

यस फिल्मलाई ‘मल्टीस्टारर’ भनिएको छ । उल्लेखित कलाकार कथाको मागका कारण राखिएको निर्देशक चौलागाईंले जानकारी दिइन् । उनले फिल्म हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताइन् ।

‘हामीले दर्शकलाई एउटा स्तरीय फिल्म दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो फिल्मपछि अन्य निर्मातालाई यी कलाकारलाई लिएर फिल्म निर्माण गर्ने आँट आउनेछ’, निर्देशक चौलागाईंले भनिन् । उक्त फिल्मले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा रु एक करोड ८६ लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क छ ।

अभिनेता विपीन कार्की, दिव्यदेव पन्त, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेको फिल्म ‘कर्मा’ मा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म द्वन्द्व प्रधान विधामा तयार भएको छ ।

प्रकाश सपूतले अभिनय तथा निर्देशन गरेको फिल्म ‘वसन्त’, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मा पनि नयाँ वर्षमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । ‘बक्सअफिस’ मा यस फिल्मले रु एक करोड ७७ लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ ।

‘अञ्जिला’ फिल्मका निर्देशक मिलन चाम्सले प्रदर्शनको पाँचौँ हप्तामा प्राप्त दर्शकको साथले निर्माण समूह कृतज्ञ रहेको बताए । उनले भने, ‘पहिलोपटक खेलाडीको जीवनीमा बनेको नेपाली फिल्मले सफलता पाएको छ । यसले आगामी दिनमा अन्य क्षेत्र झै खेलाडीको विषयलाई फिल्ममा ल्याउन निर्मातालाई आँट दिएको छ । साथै, हामीले कप्तान सुब्बाको घर बनाउने भनेका छौँ, यो पनि छिट्टै पूरा हुने भएको छ ।’

उक्त फिल्ममा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।