काठमाडौं । फिल्म ‘दैव संजोग’को लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको चिसो’को रिमेक भर्सन गीत सार्वजनिक भएको छ । आगामी जेठ ९ गते रिलिज हुने फिल्म नरसिंहाः अवतारमा राखिएका यो गीत बुधबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । गीतमा शम्भुजित बासकोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा गायिका रचना रिमालले साथ दिएकी छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का लगायत नृत्य गर्दै देखिएका छन् ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरी लगायतको पनि अभिनय रहेको छ ।
नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन तथा कथा छ ।
यसै फिल्ममार्फत राजेश हमाल ८ वर्षपछि दर्शकमाझ कमव्याक गर्दैछन् ।