काठमाडौ । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’मा अभिनेता धिरज मगर अनुबन्ध भएका छन् । निर्देशक अशोक र धिरजकाे गतवर्षको हिट फिल्म ‘खुस्मा’ पछि दोस्रो सहकार्य हो ।
बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको फिल्मको केही दिन अगाडी पहिलो चरणको छायांकन सकिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक मगरले बताए ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु फिल्म हो ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो फिल्मकाे छायांकन तिन चरणमा गरिनेछ । फिल्मकाे रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिनेछ ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको फिल्मकाे निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
फिल्ममा शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।