काठमाडौं । फिल्म ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमाको संगीत छ ।
लोकलयमा आधारित गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको छ ।
लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ । उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसंग गीतमा उल्लेख छ ।
गीतले फिल्मले लाहुरेको कथा भन्ने प्रष्ट पारेको छ । फिल्म यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदै छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ ।
‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर बनेको फिल्म हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो ।
इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाले बताएका छन् ।
फिल्म फेरि टेल पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ ।
फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
फिल्म नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्नेछ ।