काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा अभिनेत्री गौरी मल्ल अनुबन्ध भएकी छन्। उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको फिल्म निर्माण पक्षले जनाएको छ।
गौरी मल्लको प्रवेशसँगै फिल्मको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ। यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायत अनुबन्ध भइसकेका छन् ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। फिल्मको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन्।
निर्माण टिमका अनुसार फिल्मको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि फिल्मको मुख्य छायांकन गरिने तयारी गरिएको छ।




