काठमाडौं । अभिनेता विजय बराल घाइते भएसँगै रोकिएको ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ । छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट फिल्मको छायांकन सुरु भएको थियो । १५ दिनको छायांकनका क्रममा विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए ।
‘हामीले दुई साता देखि पुनः छायांकन सुरु गरेका छौँ । केही समय छायांकन रोकिए पनि हामी फेरि उही जोस र लगावका साथ काममा फर्किएका छौँ,’ उनले भने, ‘यो बीचमा हामीले थप कसरी राम्रोसँग सिनेमा खिच्ने भनेर तयारी गर्यौं । यो खाली समयलाई हामी सदुपयोग नै गरेका छौँ ।’
यो फिल्ममार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् । यसअघि यो टिमले ‘पूर्णबहादुरको सारङ्गी’मा सहकार्य गरेको थियो ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गीलगायतको पनि अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ ।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने फिल्म आगामी मंसिर ४ गते रिलिज हुने छ ।




