कसले जित्ला इन्फा अवार्ड

काठमाडौं । इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भइसकेको छ ।

आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्डमा २०८२ सालभर प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्येबाट अनुभवी निर्णायक मण्डलले उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो ।

अवार्डको मनोनयनमा ‘ऊनको स्विटर’, ‘जेरीः अन टप’, ‘कोशेढुंगा’, ‘परान’ तथा ‘आ बाट आमा’ ले मुख्य विधाहरूमा उल्लेखनीय उपस्थिति जनाएका छन् । उत्कृष्ट फिल्मदेखि निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, छायांकन, संगीतलगायत प्राविधिक विधासम्म यी फिल्मको नाम दोहोरिएको देखिन्छ ।

उत्कृष्ट निर्देशक विधामा दीपकप्रसाद आचार्य, नविन चौहान, सरोज पौडेल, सुदिप्ता तथा सुयोग गुरुङबीचको प्रतिस्पर्धा पनि निकै चासोको विषय बनेको छ ।

अभिनयतर्फ अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की उत्कृष्ट अभिनेताको दौडमा छन् भने आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री विधामा प्रतिस्पर्धा गर्दैछन् ।