काठमाडौं । अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान गरिएको छ।
अघिल्लो वर्षदेखि सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर बुधबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हास्य कलाकार एवं निर्देशक सन्तोष पन्तलाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३’, गायक तथा संगीतकार डा. किरण प्रधानलाई ‘गोपाल योञ्जन संगीत साधना सम्मान २०८३’, नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई ‘राजपाल थापा नृत्य साधना सम्मान २०८३’, साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई ‘चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३’, अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई ‘नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३’ प्रदान गरे ।
कलाकर्मीहरूलाई प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षकहरू तथा सम्बन्धित विधाका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।
नेपाल पूर्व प्रहरी कलाकार संघकी वरिष्ठ सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृति र योगदानलाई सधैं जीवित राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन्।
कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले नाचगानमा मात्र सीमित नभई नेपालको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि पनि यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताए। त्यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई समेत प्रहरी परिवारसँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।




