काठमाडौं । निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा फिल्म ‘प्रतिज्ञा’बाट डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा।लि।को ब्यानरमा निर्माण हुने फिल्मको सुशीलले बिहीबार सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका छन् ।
२०५४ सालदेखि सिनेमा निर्माणमा सक्रिय पोखरेलले यसअघि फिल्म ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र ‘परालको आगो’मा लगानी गरिसेका छन् । उनको सफल सिनेमामा ‘जय शिव शंकर’, ‘जीवनदाता’, ‘मैदान’ र ‘परालको आगो’ छन् ।
तीन दशक लामो निर्माण अनुभवलाई निर्देशनमा खर्चिने र दर्शकलाई एउटा उत्कृष्ट कथा पस्किन लागेको उनले बताए । फिल्म हरि ओम सिनेमाज प्रालि को ब्यानरमा निर्माण हुन लागेको हो । सार्वजनिक पोस्टरमा भगवान् शिवको विशाल स्वरूप त्रिशूल देखिन्छ । साथै पोस्टरमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ,’ भन्ने ट्यागलाइन राखिएको छ । जसले सिनेमा न्याय, संघर्ष र एउटा दृढ संकल्पको कथामा आधारित रहेको संकेत दिएको छ ।
फिल्मको छायांकन आगामी तिहारको छेकोमा गर्ने तयारी भइरहेको निर्देशक पोखरेलले बताए । उनका अनुसार अहिले फिल्मको प्रि(प्रोडक्सन कार्य भइरहेको छ । सम्भवतः नयाँ वर्ष २०८४ मा प्रदर्शन गर्ने टिमको तयारी छ ।




