काठमाडौं । केही फिल्म यस्ता पनि हुन्छन्, जसले दर्शकलाई आफ्नो जीवन, सम्बन्ध र मूल्यबोधबारे फेरि एकपटक सोच्न बाध्य बनाउँछन्। निर्देशक माओत्से गुरुङ आफ्नो नयाँ फिल्म ‘पेन्सन पट्टा’ त्यस्तै कथा बोकेको फिल्म भएको बताउँछन् ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मले धन, सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्याग, अव्यक्त प्रेम, मानवीय सम्बन्ध र आत्मिक सन्तुष्टिको कथा भन्छ। निर्देशक गुरुङका अनुसार फिल्मले जीवनमा सबै कुरा प्राप्त गर्नु मात्र सफलता होइन, कहिलेकाहीँ आफूले पाउन सक्ने कुरा पनि अरूका लागि छोडिदिन सक्नु नै सबैभन्दा ठूलो विजय हो भन्ने सन्देश बोकेको छ ।
फिल्मको कथा लाहुरे परिवारको परिवेशमा आधारित छ। ब्रिटिस आर्मी परिवारसँग आफू पनि जोडिएको अनुभव भएकाले निर्देशकले त्यस समाजको जीवन, भावना र सम्बन्धलाई नजिकबाट बुझेका छन् । उनको बुझाईमा ‘पेन्सन पट्टा’ संवेदनशील कथाको सिनेमिक रूप हो।
निर्देशक गुरुङका अनुसार फिल्मको सबैभन्दा बलियो पक्ष अव्यक्त प्रेम हो । माओत्सेले यो विषयमा १२–१५ वर्षदेखि काम गर्ने सपना बोकेर बसेका थिए।फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ, विश्वास गुरुङ र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङले गरेका हुन्। छायांकन सुशन प्रजापति, सम्पादन नेमिश श्रेष्ठ र केर डी। कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिन्क साउन्ड नवीन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन्। निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन्।





