शीर्ष गीतमा बाः एक योद्धा

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक भएको छ । गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ ।

रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नविर्सन अपिल गर्छ । जति सुकै ठूलो सफलता हात पारे पनि आफ्नो विगत भूल्ने हो पहिचान नै नरहने भन्दै गीतले आफ्ना, आफन्त र आफ्नो भूमि नै सबैभन्दा माथि हुने प्रस्ट पारेको छ ।

गीतमा फिल्मका मुख्य पात्रत्रय दिव्यदेव, सुहाना थापा र झरना थापासहित अन्य कलाकारलाई देख्न सकिन्छ । बच्चा हुर्काउँदादेखि उनीहरू पराई घर र पराई भूमिमा जाँदासम्मको समय र एक्लो भएको बुवाको पीडासम्म गीतको भिडियोमा समेटिएको छ ।

फिल्म भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू फिल्मको मुख्य कथा हो ।

फिल्ममा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि अभिनय छ । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।