लज्जावती ट्रेलरमा माया, धोका र विछोड

काठमाडौं । फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशक राजबहादुर सानेले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् । फिल्ममा मुकुन भुसाल र जानुका विश्वकर्मा तथा श्रीकृष्ण निरौला र मेनुका माझीको प्रेमकथालाई देखाइएको छ ।

ट्रेलरमा जोडीहरुको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको देखाइएको छ ।

यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको पनि अभिनय छ ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।

फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।