काठमाडौं। नेपाली फिल्म क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन भने छायांकनरत फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ले गरेको छ ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन यो फिल्मले फिल्म प्राविधिकका लागि हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ। हाल काठमाडौंमा धमाधम छायांकन भइरहेको चलचित्रको ३०–४० दिनसम्म निरन्तर चल्ने छायांकन तालिकाबीच प्राविधिकहरूले शारीरिक तथा मानसिक रूपमा विश्राम पाउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्मका निर्माता रघुनाथ सापकोटाका अनुसार प्राविधिकहरू महिनौंसम्म लगातार छायांकनमा व्यस्त रहने भएकाले उनीहरूले परिवारसँग समय बिताउन नपाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो ।
फिल्मका लेखक तथा निर्देशक अमर दीप सापकोटाले पनि यस निर्णयमा पूर्ण सहमति जनाउँदै स्वस्थ कार्य वातावरणले राम्रो सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाल चलचित्र प्राविधिक संघका पूर्व उपाध्यक्ष गणेश सापकोटाले पनि चलचित्र प्राविधिकलाई नियमित बिदा उपलब्ध गराउनु समयको आवश्यकता भएको बताए।





