काठमाडौं । फिल्म ‘बुलबुल’ र ‘भूटान’का निर्माता तथा गीतकार अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ सार्वजनिक गरेका छन् ।
परम्परागत तीज गीतको शैलीभन्दा निकै फरक यस गीतमा वर्तमान समयका महिलाहरुको भोगाइ र सामाजिक मनोविज्ञानलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
नेपालमा सम्भवतः पहिलोपटक ‘एज रिभर्सड कास्टिङ’को अवधारणालाई यस भिडियोमा प्रयोग गरिएको छ । भिडियोमा वयस्क महिलाहरुले गर्ने अभिनय र उनीहरुको भूमिकामा स–साना बालिकाहरुलाई उतारिएको छ ।
नेपा डान्स एकेडेमीका १६ जना बालिकाहरुले विवाहित महिलाको भेषमा गरेको अभिनय र नृत्य जीवन्त छ । हाल छायांकनमा रहेको फिल्म ‘जुबा’की लेखक वर्षा पौडेलले यस भिडियोको निर्देशन गरेकी हुन् भने रोहिया महर्जनले यसमा कोरियोग्राफी गरेकी छिन् ।
गीतमा विभिन्न पेशामा आबद्ध श्रीमानहरुका कारण श्रीमतीहरुले भोग्नुपरेका विवशता र समस्यालाई ठट्यौलो तथा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
जग्गा कारोबारीदेखि डाक्टर, पत्रकार, पसले, वैदेशिक रोजगारीमा रहेका, शेयर कारोबारी, सरकारी कर्मचारी, सेना र फिल्मकर्मी श्रीमानहरुले समय नदिँदा वा उनीहरुको कार्यशैलीका कारण श्रीमतीको मनोदशामा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई गीतका शब्दले समेटेको छ ।
सार्वजनिक गीतमा गायिका दीपिका बयम्बु, गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको छ । गीतमा किरण भुसालको संगीत रहेको छ । भिडियो ‘देवाश्री फिल्म्स’को युट्युब च्यानलबाट रिलिज गरिएको हो ।





