काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन बाजुराको बडीमालिका मन्दिरबाट सुरु गर्ने भएकी छन् । फेसबुकमा एक स्टाटस् लेख्दै उनले यही साउन २९ देखि छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । फिल्ममा सञ्जय लामाको छायांकन हुनेछ ।
बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’
निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’
साथै प्रधानमन्त्री बालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचारप्रसारमा विशेष जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन् ।
फिल्ममा कलाकारको रूपमा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिकाका जोडिएका छन् । यसबाहेक अन्य कलाकार गोप्य राखिएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् ।
फिल्ममा अभिनेत्री सुहाना र अभिनेता अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए ।





