काठमाडौँ । यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को प्रचारप्रसारलाई व्यापक पारिएको छ। निर्माण टिमले उपत्यका बाहिर पनि प्रचारप्रसारलाई व्यापक बनाएको हो।
फिल्मको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी लगायत जिल्लापछि निर्माण टिम पश्चिम पुगेको छ। अहिले पश्चिम जिल्ला दाङ, नेपालगञ्ज, धनगढीमा पनि निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तिब्रता दिएका छन्। त्यहाँ रहेका सवारीसाधन अटो, ई–रिक्सा लगायतमा फिल्मको पोस्टर राखिएको देख्न सकिन्छ। सयौँ रिक्साले आफ्नो दायाँबाया तथा पछाडी फिल्मको पोस्टर बोकेर दौडिरहेको देख्न सकिन्छ।
फिल्मका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले फिल्मको प्रचारप्रसारलाई व्यापक पारिरहेको बताए। पूजाले भनिन्,‘अहिले फिल्मको प्रचारप्रसार कसरी गर्न सकिन्छ भन्ने हो। दर्शकमाझ फिल्मको प्रचारप्रसार नगरे त दर्शक कसरी हलमा आउने। फिल्म साउन २२ गते लाग्दैछ भन्नका लागि पनि हामीले सकेजति फिल्मलाई दर्शकमाझ पुर्याउने कोसिस गरिरहेका छौँ।’
केहि दिनअघि प्रचारप्रसार स्वरुप काठमाडौँस्थित सिटी सेन्टरमा रहेको बिग भुमिजमा विशेष शोको आयोजना पनि गरिएको थियो। उक्त विशेष शोमा उपस्थित भएका दर्शक तथा फिल्मकर्मीहरूबाट यो फिल्मलले उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो।
फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।
लेखन स्वयं निर्देशक ओम प्रतीकले गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ।





