यस्तो छ इन्फा अवार्डको तयारी

काठमाडौं । इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड २०२६) को तेस्रो संस्करण आगामी २०८३ साउन ३० गते शनिवार काठमाडौंमा आयोजना हुँदैछ । पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सम्पन्न गरेको इन्फा इभेन्ट्स यूक तथा इन्फा इभेन्टस नेपालले यसपटक पहिलोपटक नेपालमै अवार्ड समारोह आयोजना गर्न लागेको हो ।

अवार्ड समारोहलाई भव्य बनाउन आयोजक टोलीले नेपाली फिल्म क्षेत्रका अग्रज तथा लोकप्रिय कलाकारहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गरिरहेको छ । आगामी दिनमा अन्य कलाकार, निर्देशक, निर्माता तथा प्राविधिकलाई समेत निमन्त्रणा हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ । यस वर्षको इन्फा अवार्डलाई सफल बनाउन बेलायत र नेपालका अनुभवी फिल्मकर्मी तथा आयोजकहरू संयुक्त रूपमा सक्रिय छन् ।

इन्फा यूके (लण्डन टिम) का अध्यक्षः उमेशराज मोक्तान, बोर्ड सदस्यः टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे, सुष्मा पौडेल तथा इन्फा नेपाल टीममा अध्यक्षः सुनील श्रेष्ठ तथा बोर्ड सदस्यहरु मनिष कार्की र मनोज केसी छन् ।

दुवै टोलीले नेपाल तथा विदेशमा रहेका नेपाली फिल्मकर्मीबीचको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्यका साथ अवार्डलाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा स्थापित गर्ने तयारी गरिरहेका छन् ।