कमला मिसको प्रिमियरमा कथाको प्रशंसा

काठमाडौं । साहित्यकार तथा नाटककार विजय मल्लको कृति ‘कोही किन बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’ को काठमाडौंस्थित जयनेपाल हलमा सोमबार साँझ प्रिमियर गरिएको छ । फिल्म यही शुक्रबार रिलिज हुँदैछ ।

बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका संघर्षलाई मार्मिक र प्रभावकारी ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया रहेको छ। फिल्मले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको उनीहरूको भनाइ छ।

प्रिमियरमा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विशेष विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बालमनोविज्ञान, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई फिल्मले अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै हरेक शिक्षक, अभिभावक र विद्यार्थीले एकपटक अवश्य हेर्नुपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन्।

निर शाहको निर्देशनमा बनेको फिल्ममा निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठान का लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।