हरिवंशको बायोपिकमा हरिवंश बन्दै अरुण

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यको जीवनीमा आधारित बायोपिकमा अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन् । अहिले बक्सअफिसमा क्लबबस्टर साबित फिल्म ‘गौथली’मा ठूले चरित्र निभाएर दर्शकको वाहवाही पाएका अरुणले हरिवंशको बायोपिकमा शीर्ष भूमिकामा अभिनय गर्न लागेका हुन् । अहिलेलाई भने अरुण मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अनुबन्ध भएका छन् ।

फिल्ममा मिलन चाम्सको निर्देशन हुनेछ । ‘हामीले म मदनकृष्णमा हरिवंशको रोलमा अरुणलाई लिएका छौँ । यो सँगै एकैपटक अब हरिवंश आचार्यको जीवन कथामा बन्ने बायोपिकमा पनि हरिवंश दाइको भूमिकामा अरुणलाई साइन गराएका छौँ,’ मिलनले भने, ‘हामी सशक्त अभिनय गर्ने कलाकारको खोजी गर्दै जाने क्रममा अरुणसम्म पुगेका हौँ । उहाँलाई हरिवंशको भूमिकामा पक्कै पनि सबैले मन पराउनु हुनेछ भन्ने लागेको छ ।’ फिल्म ‘म मदनकृष्ण’मा पनि मिलनकै निर्देशन रहनेछ ।

फिल्ममदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्ममा राजकुमार श्रेष्ठको निर्माण हुनेछ ।