मन बिनाको धन २ मा कलाकारको भीड

काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा कलाकार अनबुन्ध हुने क्रम बढ्दो देखिएको छ ।

मंगलबार निर्माण पक्षले कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ।

फिल्ममा अभिनयसँगै मदनकृष्ण श्रेष्ठले एउटा गीतमा स्वर पनि दिनेछन्। मंगलबार नै उनको स्वरमा चलचित्रको एक गीत रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ।

यसअघि नै फिल्म सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठलगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। फिल्मकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन्।

फिल्मको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि फिल्मको मुख्य छायांकन गरिने तयारी गरिएको छ।