काठमाडौं । इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को जुलाई महिनाको बिजेता गिनिज अधिकारी भएका छन् । आईआईएमटी नेपालले डिजिटल माध्यमबाट मासिक रुपमा आयोजना गरिरहेको प्रतियोगीताका बिजेता गिनिजले नगद पुरस्कार ५० हजार रुपैयाँ,प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गरेका छन् ।
गायन, नृत्य, अभिनयलगायत विभिन्न विधामा प्रतिभाको खोजी, पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगीतामा इच्छुक प्रतियोगीले नेपालको जुनसुकै स्थानबाट पनि आफूमा निहित प्रतिभा मोबाइल वा क्यामेरामार्फत तयार गरी अनलाइन माध्यमबाट पठाएर सहभागी जनाउन सक्ने प्राबधान राखिएको छ ।
प्राप्त प्रस्तुतिहरू आईआईएमटीका निर्धारित मापदण्डअनुसार समीक्षा गरिने र योग्य प्रस्तुति आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गरिने र दर्शकको छनौट र मतअनुसार बिजेता घोषणा गरिने प्राबधान राखिएको आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितालाई थप रोचक, प्रतिस्पर्धात्मक तथा सहभागितामूलक बनाउने उद्देश्यले अगस्ट २०२६ देखि आईआईएमटी गोल्डेन एरो अवार्ड र आईआईएमटी बुल्सआई अवार्ड समेत सुरु गर्न लागिएको छ। आईआईएमटी नेपालले देशभर रहेका गायक, डान्सर,अभिनेता तथा विभिन्न विधाका प्रतिभाशाली व्यक्तिहरूलाई आगामी प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्न आह्वान गरेको छ।
साथै, आफ्नो गाउँ, टोल, सहर तथा क्षेत्रका प्रतिभालाई अगाडि बढाउन स्थानीय समुदाय, परिवार, साथीभाइ तथा शुभेच्छुकको भूमिका महत्वपूर्ण हुने भन्दै आईआईएमटीले प्रतिभालाई समर्थन गर्न सबैमा आग्रह गरेको छ।





