काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध भएकी छन् । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो ।
उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन् । हरिवंशको भूमिका भने अरुण क्षेत्रीले निभाउने छन् । हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहनेछिन् । किनकी अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।
मिलन चाम्सको निर्देशन रहने फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।





