प्रतिवैरमबाट निर्माणमा सत्यराजको कमव्याक

काठमाडौं । मधेशको सामाजिक परिवेश, संघर्ष, सम्बन्ध, पीडा र बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘प्रतिवैरम्’ मार्फत सत्यराज चौलागाई निर्माणमा कमव्याक भएका छन् । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै उनले आफूले कमव्याक गरेको जानकारी दिएका छन् ।

फिल्म ‘नागरिक’पछि झण्डै एक दशकको अन्तरालमा निर्माता सत्यराज चौलागाईं पुनः फिल्म निर्माणमा फर्किएका छन्। सत्यराजले निर्देशक, लेखक, गीतकार तथा निर्माताका रूपमा पहिचान बनाइसकेका छन् ।

रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म सिम्पल एड मिडिया, श्रियन इन्टरटेनमेन्ट तथा आदर्श प्रोडक्सन्सको सहकार्यमा तयार भएको हो।

फिल्मको कथा तथा निर्देशन रोशन दासले गरेका छन् भने पटकथा तथा संवाद युवराज भट्टराईको रहेको छ। फिल्मका निर्माता सत्यराज चौलागाईं र हर्ष कुमार यादव हुन्। को–प्रोड्युसरमा अनिश पोखरेल, एक्जिक्युटिभ प्रोड्युसरमा विक्की साह तथा क्रिएटिभ प्रोड्युसरमा राकेश साह रहेका छन्।

फिल्मबाट सम्राट दासले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्ममा वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, प्रदीप ढकाल, नवीन श्रेष्ठ र नारायण बी।के। लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्ममा निरज कडेल र कृष्ण परियार ‘ज्याक’को छायांकन, श्याम कुँवरको रंग संयोजन र कविर ओडको सम्पादन छ । फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ आउनेछ। मधेशको कथा र भावनालाई मैथिली तथा भोजपुरी भाषामार्फत मधेशका दर्शकसम्म पुर्‍याउने र हिन्दी भाषामार्फत सीमावर्ती भारतीय दर्शकमाझ समेत फिल्मको पहुँच विस्तार गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ।

फिल्म आगामी मंसिर ४ गते अर्थात् २० नोभेम्बर २०२६ मा सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।