गायिका मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार

काठमाडौं । सरु संगीत घर, टिकाथली, ललितपुरले २०८३ सालको ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ गायिका मिरा राणालाई प्रदान गर्ने भएको छ । गायिका राणाले बिगत छ दशकदेखि नेपाली आधुनिक गीत संगीतका क्षेत्रमा पुर्याएको योगदानको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको घरले जनाएको छ ।

पुरस्कृत व्यक्तित्व छनौटका लागि संगीतकार कोमल निरौलाको संयोजक तथा सदस्यहरू गायक संगीतकार सूर्य थुलुङ, गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल तथा सदस्यसचिव डेनी निरौलाको छनोट समितिले गायिका राणाको नाम पुरस्कारका लागि सर्वसम्मत चयन गरेको हो । यो पुरस्कार पाउने राणा दोस्रो साधक हुन् । यसअघि २०८२ सालमा लोकगायिका कविता आलेलाई पहिलोपटक सरु संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी रू २५ हजार पाँच सय २५ रुपैंयाँ छ ।

हरेक बर्ष प्रदान गरिने यो पुरस्कारका लागि ५ लाख रुपैंयाँको अक्षयकोष स्थापना गरिएको छ । सरु संगीत पुरस्कारको स्थापना स्व. सरस्वती निरौलाको स्मृतिमा उनका श्रीमान् संगीतकार कोमल निरौला, श्रीमती इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, श्रीमती सबिता नेपाल निरौला, संगीतकार भिषण निरौला श्रीमती सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला तथा श्रीमान् सबिन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा स्थापना गरिएको हो ।

पुरस्कार आगामी असोज १० गते शनिबार सरु संगीत घरको छैठौं वार्षिक कार्यक्रममा प्रदान गरिने छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ मा रहेको सरु संगीत घरले बिगत छ बर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । यस बिद्यालयमा गायन र वाद्यवादनलगायतका बिधामा हाल सयजना हाराहारी विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।