काठमाडौं । गीतकार सङ्घ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार आर्थिक सहयोग जम्मा गरेको छ ।
संघका अध्यक्ष बसन्त वित्यासी थापाद्वारा जारी विज्ञप्तीमा बाढी पहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास सङ्घले व्यक्त गरेको छ।
गीतकार सङ्घ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
गीतकार सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाँध फुटी त्रिशुली नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसम्म प्रभावित भएको र हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको र देश शोक तथा पीडामा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ।
सङ्घले आफ्नो उत्सवभन्दा माथि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरेको जनाएको हो। सङ्घले विपद्मा रहेका नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सम्पूर्णमा आह्वान गरेको छ।






