काठमाडौं । आगामी शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्म ‘ककाकिकी’ अब मंसिर ११ गते रिलिज हुने भएको छ । गत बुधबार बिहान चीनको तिब्बततर्फबाट हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिपछि देश शोकमा डुबेको भन्दै निर्माण पक्षले रिलिज स्थगित गरेको हो ।
माया इन्टरटेनमेन्ट स्टुडियोले शनिबार विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति सार्नु परेको जनाएको छ । ‘देशमा अचानक आएको बाढीरुपी प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको छ । यस्तो अवस्थामा हाँस्ने–हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पना समेत गर्न सकिँदैन, त्यसैले हामीले चलचित्रको रिलिज स्थगित गर्ने निर्णय गरेका हौँ ।’
निर्माण टिमले पीडामा रहेका दर्शकलाई हँसाउन खोज्नु मानवीय संवेदनाविरुद्ध हुने भएकाले व्यवसायिक लाभभन्दा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी यो निर्णय लिइएको जनाउँदै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण तथा प्रभावितहरूको छिटो उद्धार र पुनस्र्थापनाको कामना गरेको छ ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको अभिनय छ । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।






