काठमाडौं । भारतीय संगीतकार तथा प्रदर्शनरत बलिउड फिल्म ‘टक्सिक’का गायक विशाल मिश्राले नेपाल र असमका बाढी पीडितका लागि कन्सर्ट गर्ने भएका छन् । उनले बाढीको समाचारले आफू द्ुःखी भएको भन्दै बाढीपीडितको सहयोगार्थ कन्सर्ट गर्ने इन्स्टाग्राममार्फत घोषणा गरेका हुन् । उनले कन्सर्टबाट प्राप्त आम्दानी बाढीपीडितलाई राहत र बाढी प्रभावितको सहयोगमा खर्च गरिने उल्लेख गरेका छन् । उनले चाँडै नै कन्सर्टको मिति घोषणा गर्ने जानकारीसमेत दिएका छन् ।
विशालले गाएका गीतहरु ‘कैसे हुआ’, ‘पहले भी मे’, ‘आज भी’, ‘जानम’, ‘मांझा’, ‘रमता जोगी’ र ‘सौ ग्राम जिन्दगी’ लोकप्रिय छन् । ‘जे भइरहेको छ, त्यसलाई देख्दा मेरो हृदय भारी भएको छ । त्यसकारण मैले एक निर्णय लिएको छु । म नेपाल र आसाममा कन्सर्ट गर्नेछु । हरेक रुपैंयाँ बाढी पीडितलाई राहत र प्रभावित मानिसको सहयोगमा खर्च हुनेछ । म तपाईंलाई प्रतिबद्धता व्यक्त गर्दछु । चाँडै नै विस्तृत घोषणा गर्नेछु’, उनले लेखेका छन् ।
नेपालको रसुवामा गत बुधबार भोटेकोसीमा बाढी आएको थियो भने भारतको असममा १९ जुलाईमा बाढी आएको थियो ।
विशाल डीडी नेसनलको एक रियाटिली शोमा सहभागिता जनाएका थिए । त्यसपछि उनले ‘इण्डियन आइडल’ अडिसन दिए पनि त्यसमा छनोट हुन सकेनन् । ३५ वर्षे विशालले सन् २०१६ मा तमिल फिल्म ‘देवी’मा संगीतकारका रुपमा आफ्नो डेब्यू गरेका थिए ।
सन् २०१७ मा उनले ‘करिब करिब सिंगल’को लागि गीत ‘जाने दे’ तयार पारेका थिए । जसमा आतिफ असलमको स्वर थियो । उनले ‘यमला पगला दीवाना फिर से’का लागि ‘रफ्ता रफ्ता’को संगीत सिर्जना गरेका थिए । उनको म्युजिक भिडियोमा सलमान खानले विशेष भूमिकामा अभिनयसमेत गरेका छन् । उनले करीना कपूर खान, सोनम कपूर, स्वरा भास्कर र शिखा तलसानिया स्टारर फिल्म ‘वीरे दी वेडिंग’ को शीर्ष गीत कम्पोज गरेका थिए । यसबाहेक ‘टक्सिक’को गीत ‘तबाही’ गाएका पनि थिए ।






