छायाँछवि तीज म्युजिक अवार्ड स्थगित

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष हुँदै आएको ‘छायाँछवि तीज म्युजिक अवार्ड’ यस वर्ष नहुने भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाप्रलय बाढीका कारण आम मानिसमा परेको पीडाकालाई मध्यनजर गर्दै १३ औं संस्करणको अवार्ड आयोजना नगर्ने आयोजकले जनाएका छन् ।

‘तीज अवार्ड मनोरञ्जनको कार्यक्रम भएका कारण यतिखेर आम नेपालीको मानसिक अवस्था अलि कमजोर भएका कारण पनि हामी रमाउन सकेनौ । यसैले यस बर्षको छायाछवि तीज म्युजिक अवार्ड हामीले तत्काल आयोजना गर्न सकेनौ । हामी नेपालीहरुको पीडादायी अवस्था छ । यतिखेर हामी सम्पूर्ण अकालमा ज्यान गुमाएका मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौ । साथै मृतकका परिवारमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छौ’ छायाछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियद्वारा विज्ञप्तीमा उल्लेख छ ।

आयोजकले परिस्थितिले अहिले कार्यक्रम गरिहाल्न अनुकुल नभए पनि अवार्डको नतिजा भने यसै हप्ता सार्वजनिक गर्ने जानकारी दिएको छ । सार्वजनिक गरिएको नतिजा अनुसार पुरस्कृत सर्जक एवं सिर्जनाहरुलाई केही समयको अन्तरालमा एक छुट्टै कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरिने आयोजकको भनाई छ ।