काठमाडौं । फिल्म जलाकीबाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा उनी मगरहरुको सांस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन् ।
उनले यो फिल्ममा ‘ओपन माइन्डेड’, आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन् । उनी पोखराकी सफल, स्वतन्त्र व्यवसायी एक महिलाको छोरीको पात्रमा देखिनेछिन् ।
सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन् । उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन् । साथै मिस बेस्ट ¥याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन् ।
उनले मण्डला थिएटरमा अभिनयको प्रशिक्षण लिएकी छन् । सिनेमा छायांकनकै क्रममा रहँदा कार दुर्घटनामा उनको बुबाको निधन भयो । सिनेमा छायांकनका लागि काठमाडौं आउनु अघि उनले बाबालाई भेटेकी थिइन् । त्यो नै उनको अन्तिम भेट बन्यो । बुबाको अन्तिम बिदाइ सकेर ४ दिनमै उनी पुनः सुटिङमा फर्किइन् ।
‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ । फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको हो । फिल्ममा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको अभिनय रहेको छ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
शैलेन्द्र डी.कार्कीले छायांकन गरेको सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।







