बाः एक योद्धा ट्रेलरमा बुवा र छोराहरुको दुरी

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा छोराछोरीप्रति बुवा समर्पित भए पनि बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ ।

घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सिने छोराको कथालाई ट्रेलरमा स्थान दिइएको छ । आफ्नै बुवाको समस्या छोराहरूले नबुझ्दा बुवाआमाले भोग्नु पर्ने समस्या र अपमान देखाएको ट्रेलरले छोराभन्दा छोरीले अभिभावकको समस्या बुझ्छन् भन्ने देखाइएको छ ।

फिल्म आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउँदै छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू फिल्मको मुख्य कथा रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।