काठमाडौं । भोटेकोशीको बाढीपीडितलाई सहयोग जुटाउन नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको फिल्म ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ विश्वभर प्रदर्शन हुने भएको छ ।
कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ विजेता यो फिल्मले आफ्नो अन्तर्राष्ट्रिय यात्राका क्रममा नेपालप्रति ऐक्यबद्धता जनाउँदै फ्रान्समा विशेष च्यारिटी प्रदर्शन गर्ने भएको हो ।
फिल्मका निर्मातासमेत रहेका प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन् । बाढीले श्रेष्ठको घरमासमेत क्षति पुर्याएको थियो । अविनाश विक्रम शाह निर्देशित फिल्मको फ्रान्सेली रिलिज सेप्टेम्बर २३ बाट हुँदैछ । त्यसअघि सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हाल्समा विशेष प्रिभ्यू स्क्रिनिङ आयोजना हुँदैछ । निर्देशक अविनाश स्वयं उपस्थित रहने उक्त प्रदर्शन अर्थात् ‘नेपालसँगको ऐक्यबद्धता’ अभियानअन्तर्गत आयोजना गर्न लागिएको हो ।
यस विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने आम्दानी नेपालमा बाढी तथा प्राकृतिक विपदबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदान गरिनेछ ।
यसअघि पनि फिल्मको टोलीले नेपालमा बाढीपीडितको सहयोगार्थ गत भदौ १७ गते काठमाडौंमा विशेष स्क्रिनिङ आयोजना गरेको थियो । उक्त प्रदर्शनबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा प्रदान गरिएको थियो ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।







