काठमाडौँ। राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को देशैभरका हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मले प्रारम्भिक चरणमा ६० भन्दा बढी शो पाएको छ ।
भारी बोक्ने भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ र दोस्रो विवाहको कथावरिपरि घुमेको यस फिल्ममा जितु नेपाल (कार्की साइँला) मुख्य भरियाको भूमिकामा देखिएका छन्। फिल्ममा जितु नेपाल र प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको छ ।
बालकुमार राईको लगानी र कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। कर्णबहादुर फिल्मस् प्रा।ली।को ब्यानरमा निर्माण भएको यस फिल्मको कथा सबिन अधिकारी र शंकर धितालले लेखेका हुन् भने मुख्य सहायक निर्देशन रोजल थापाको रहेको छ।
डम्बर राईले खिचेको यो फिल्म धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका स्थानमा छायांकन गरिएको हो। किरण दाहालको द्वन्द्व र दिप्सन लिम्बु तथा संकेत अगस्थीको संगीत रहेको यस फिल्मको ‘लग्यौ परान’ यतिबेला चर्चामा छ ।







