काठमाडौं । निर्माता तथा निर्देशक नारायण रायमाझीले फिल्म ‘बसन्ती’को निर्माण घोषणा गरेका छन् । शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् ।
२०५७ सालमा नीर शाहले यही नाममा फिल्म निर्देशन गरेका थिए । उक्त फिल्म उपन्यासकार डायमण्ड शमशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो । उक्त फिल्म प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका छन् ।
रिमा फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्ममा संगीतकार तथा गायक खेम सेन्चुरी र अभिनेत्री टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् । भोलि शनिबारदेखि फिल्मको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए । फिल्म काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ ।
निर्देशक रायमाझीले नै लगानी गर्ने फिल्मको कथा रमेश बिजिले लेखेका हुन् । फिल्मको मुख्य सह–निर्देशकमा चन्द्र कुमार भट्टराई, एशोसियट निर्देशकमा सुजता बस्याल राना, सह–निर्देशकका रूपमा यगे बहादुर राउत र सन्जीव चन्द रहेका छन् ।
फिल्मको गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ । संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन् । फिल्म छायांकन शिव ढकालले गर्नेछन् । सह–छायांकारमा जयन्द्र रावल छन् ।
नहकुल खड्काले सम्पादन गर्ने फिल्ममा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टको भिएफएक्स, धन बहादुर राई (सन्देश)को प्रोडक्सन डिजाइन, सेट डिजाइन तथा निर्माणमा हुम बहादुर बिक, आर्टमा धुर्व कार्की र श्रृंगार सरोज बुढाथोकी, ड्रेस डिजाइन श्रेया लो र लाइन प्रोड्युसरमा खेमराज अर्याल (मिराज) रहने छन् ।







