सिक्लेसमा बुकी फूल सुरु

पोखरा । गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन र परम्परालाई कथावस्तु बनाउँदै फिल्म ‘बुकी फूल’ को मुहुर्त गरिएको छ। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार मुहुर्त गरिएको हो ।

बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथात्मक रुपमा देखाइनेछ ।

फिल्मको अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिनेछ। मुहूर्त कार्यक्रममा फिल्म निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

फिल्ममा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ ‘श्याम’लगायतका कलाकारको अभिनय रहनेछ ।

सुसन प्रजापतिको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्। फिल्मको छायांकन करिब ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।