जातीय विभेदविरुद्ध जदौ ट्रेलर

काठमाडौं । आगामी असोज ९ गतेबाट रिलिज हुने फिल्म ‘जदौ’ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति समाजमा ब्याप्त बिभेद, भेदभाव र उल्झनको बिषय प्रस्तुत गरिएको छ । मुुल कथा सस्पेन्स नै राखिएको ट्रेलरमा हाँसो, रोमान्स तथा रोदनको समीश्रण देखिन्छ । फिल्ममा काजी लिम्बूको लेखन छ ।

निर्देशक अञ्जनले आफूहरुले नेपाली समाजमा व्याप्त जातीय बिभेद, धनीमनीले गरिब–निर्धालाई गर्दै आइरहेको थिचोमिचोजस्ता गैरमानवीय कार्यबिरुद्ध फिल्मको माध्यमबाट सशक्त आवाज उठाउने प्रयास गरेको बताए । अर्का निर्देशक काजी लिम्बूले आफूहरुले बर्षौदेखि भन्न चाहिरहेको कथा ‘जदौ’ मार्फत प्रस्तुत गरेको बताए ।

अभिनेता मुकुन भुसालले फिल्ममा आफूले बिगतका भन्दा भिन्नै भूमिका र चरित्र निर्वाह गरेको बताए । अभिनेत्री नीति शाहले आफूले निकै मेहनत गरेको र परिणाम पनि सुखद आउनेमा आशावादी रहेको बताइन् । अभिनेता प्रभात पाल ठकुरीले यो आफ्नो करिअरका लागि निकै महत्वपूर्ण फिल्म भएको बताए ।

फिल्ममा मुकुन,नीति,प्रभातपाल,ऋचा शर्मा,गीता अधिकारी,नरेश पौड्यालका साथमा राजश्री थापा,विनोद न्यौपाने,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतले अभिनय गरेका छन् । श्याम तामाङ र नवराज उप्रेती (गीत) को छायांकन रहेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री छन् ।

सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्म एनजिसिएन ग्रुपले बितरण गर्दैछ । फिल्म समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो । कार्यक्रममा ‘जदौ’ को तर्फबाट गोलाप्रथाद्वारा ७ जना भाग्यशाली संचारकर्मीलाई बिभिन्न उपहार प्रदान गरिएको थियो ।