भैरवपछि आचार्यमा निखिलको दमदार एक्सन

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। यही असोज ९ गतेदेखि रिलिज हुने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

ट्रेलरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य र मनोरञ्जनात्मक प्रस्तुतिले फिल्मलाई एक्सनप्रधान बनाएको संकेत गर्छ।

यसअघि निर्माण, निर्देशन तथा अभिनयसमेत गरेको फिल्म ‘भैरव’मा दमदार एक्सन देखाएका निखिलले ‘आचार्य’मा अझ दमदार एक्सन दिएको ट्रेलरबाट बुझ्न सकिन्छ । कार्यक्रममा निखिलले नेपालमा विदेशी फिल्मको दबदबा रहिरहेका बेला नेपाली बजेट, नेपाली कन्टेन्ट र नेपाली श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतीले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै अभिनयमा डेब्यु गरेकी छन्।

फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ।

सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको फिल्मको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।

फिल्मलाई मनोज राठीले वितरण गर्दैछन्। नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।