काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
फिल्मको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ। संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ।
फिल्मलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको छ।
पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ देखाइएको छ। सुरुङभित्र केही पात्र देखिन्छन् भने ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई फिल्मको मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ। फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।
फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।
दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन्। प्रदीपका लागि यो फिल्म चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’ निर्माणमा सहकार्य गरेका थिए।
नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको फिल्म नेपाल र भुटानमा प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी छ। निर्माण टिमका अनुसार एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गर्ने योजना छ।
फिल्मको छायांकन दीर्घ गुरुङ र संगय टी तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्।








