मोफसलमा बाः एक योद्धा प्रिमियर, दर्शकले सम्झिए बा

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ ले उपत्यका बाहिरका प्रमुख सहरहरु नेपागञ्ज, दाङ, धरान र बुटवल प्रिमियर गरेको छ । नेपाली फिल्मका लागि प्रमुख बजार रहेको उपत्यका बाहिरका यी स्टेसनमा हालै फिल्मको प्रिमियर गरिएको हो । काठमाडौंमा भने असोज ६ गते प्रिमियर हुँदैछ ।

फिल्मका निर्देशक हरि लम्सालले मोफसलबाट उत्साहजनक प्रतिकृया पाएकाले काठमाडौंका दर्शकको प्रतिकृया लिन उत्सुक भएको बताए । ‘हामीले नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो फिडब्याक पाएका छौँ, त्यस्तै प्रतिकृया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,’ उनले भने । निर्माता वसन्त लम्सालले दिव्य देव र सुहाना थापाको कामको दर्शकले प्रशंसा गरेको बताए ।

प्रिमियर फिल्म हेरेकी एक महिला दर्शकले वास्तविक जीवनमा आफ्नो बुवा नभएकाले फिल्मको बाले जस्तै संघर्ष गरेर हुर्काएको बताइन् । ‘उहाँको सेन्डो सधैँ च्यातिएको हुन्थ्यो । तर, मलाई र मेरो ममीलाई कहिल्यै पुरानो लुगा लगाउन दिनु भएन । यो फिल्म हेरेर मैले मेरो बालाई मिस गरेँ ।’ उनले भनिन् ।

अर्का दर्शकले बुबाआमालाई सन्तानले कहिल्यै घात गर्नु हुँदैन भन्ने सन्देश फिल्मले दिएको बताउँदै फिल्ममा बुवाले जसरी सुरुदेखि अन्तिमसम्म दर्दनाक दुःख गर्छन्, त्यो कथाले मन छोएको बताए ।

अडियन्स प्रिमियरमा कलाकार दिव्यदेव, सुहानासँगै अनिल बुढाथोकी र सुप्रज्ञा शर्मा तथा निर्देशक हरि लम्साल, निर्माता वसन्त लम्साललगायत उपस्थित थिए । बुधबार दाङमा फिल्मको ग्रान्ड प्रिमियर हुँदै छ ।

आगामी शुक्रबारबाट रिलिज हुने फिल्मले नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथालाई देखाउनेछ ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।