गुपचुप रुपमा श्रीमान श्रीमति बनाउदै दीपेन्द्र

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन गुपचुप रूपमा अगाडि बढाएका छन् । घोषणा नै नगरी सुरु गरिएको यो फिल्म अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको काम अब करिब एक साताभित्र सकिने निर्देशक खनालले बताए । पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बन्न लागेको फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

‘दर्शकले मन पराउने मिठो कथामा फिल्म बन्दैछ । आशा छ, दर्शकले मन पराउनु हुनेछ,’ निर्देशक खनालले भने, ‘हामीले इमान्दार भएर फिल्म बनाउने हो । पक्कै पनि इमान्दार बनेर बनाइएको फिल्म दर्शकको रोजाइमा पर्छ ।’ निर्माण टिमले प्रदर्शन मिति भने तोकेको छैन ।
निर्देशक खनालको पछिल्लो रिलिज फिल्म ‘हरिबहादुरको जुत्ता’ हो । यसबाहेक उनले ‘क्याप्टेन साब’को समेत छायांकन सम्पन्न

गरिसकेका छन् । ‘क्याप्टेन साब’ भने प्रदर्शनमा आउन बाँकी छ ।