काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन स्थगित भएको छ । आजबाट रिलिज हुने भनिएको यो फिल्म नेपाल तथा भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा थियो ।
फिल्मको बिहीबार साँझ ललितपुरस्थित लबिम मलमा प्रिमियर पनि गरिएको थियो । प्रिमियरबाट फिल्मले प्राप्त गरेको उत्साहजनक तथा उत्कृष्ट प्रतिक्रियालाई मध्यनजर गर्दै नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेसँगै रिलिज स्थगित गरिएको निर्माण टिमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
फिल्मलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ दर्शकमाझ पुर्याउने तयारी भइरहेको छ। जसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरी छिट्टै नयाँ प्रदर्शन मिति सार्वजनिक बताइएको छ ।






